६ सय जनालाई रोजगारी :जनप्रतिनिधिले अनिवार्य श्रमदान गर्नुपर्ने निर्णय

जनप्रतिनिधिले अनिवार्य श्रमदान गर्नुपर्ने

चैत १०, २०७४ पर्वत : महाशीला गाउँपालिकाले जनप्रतिनिधिहरूले अनिवार्य श्रमदान गर्नुपर्ने निर्णय गरेको छ। जसअनुसार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यले न्युनतम तीन र वडा सदस्यले पाँच दिन श्रमदान गर्नुपर्नेछ।

गाउँपालिकाले छ सय जनालाई रोजगारी दिने गरी विकास स्वयंसेवी कार्यक्रम ल्याएको छ। त्यही कार्यक्रममा जनप्रतिनिधिहरूले आ–आफ्नो क्षमता र रुचीअनुार श्रमदान गर्नुपर्ने गाउँपालिकाले निर्णय गरेको हो।

गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्मले क्षमता र रुचिअनुसार स्वयमसेवी कार्यक्रममा अनिवार्यरूपमा श्रमदान गर्नुपर्ने निर्णय गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले बताए।

जनप्रतिनिधिहरुले नै काम गरेमा नागरिकहरुमा कामप्रति लगाव बढ्ने आशामा यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले बताए।  गाउँपालिकाले बेरोजगार घरपरिवारलाई रोजगारी दिने घोषणा गरेको छ।

सरकारी र गैरसरकारी निकायमा कुनै सदस्यले रोजगारी नपाएको परिवारका कम्तीमा पनि एक जनालाई रोजगार दिने गाउँपालिकाको नीति छ।

यसका लागि प्लम्बिङ, सहकारी, लेखा बैंक, वन व्यवस्थापन, शैक्षिक संस्था, स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, वडा र गाउँपालिका व्यवस्थापन, सडक रक्षक, पर्यटन, विद्युत्, सिकर्मी, डकर्मीलगायतका विषयमा छ सय जनालाई तालिम दिने कार्यक्रम छ।

एक महिने तालिममध्ये १५ दिन फिल्डमा पाठाइनेछ। बाँकी १५ दिन उनीहरुले घरमै काम गर्नेछन्। यसका लागि उनीहरुलाई मासिक छ हजार पारिश्रमिक समेत तोकिएको गाउँपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *