घाटको पानी पिउँन बाध्य यी नेपलीहरु

दिउँसो शव ल्याएर जलाए भने पानी खान पाइँदैन

बिर्तामोड : केही मास्तिर शव जलाएर बाँकी रहेको काठको मुढो खोलामा आधा डुबेको देखिन्छ। बगर र पानीमा अँगार छरपस्ट छन्। त्यसकै छेउबाट मेचीनगर–३ तिम्सिेनेकी गोमा नेपालले निन्दा खोलामा गाग्री डुबाइन् र पानी भरिन्।

गोमा जस्तै तिम्सिनेबासी यही खोलाको पानी पिउँछन्। खाना बनाउन पनि यही पानी प्रयोग गर्छन्।

गोमाले समस्याबारे भनिन्, ‘गाउँमा पानीको अरू स्रोत नभएकोले हामी यही खोलाको पानी खान्छौं।’ गाउँमा खानेपानीको अरू स्रोत नहुँदा शव जलाउने घाटैको पानी खान बाध्य हुनुपरेको उनले बताइन्।

चुरे क्षेत्रको फेदीमा पर्ने इलामसँगको सीमावर्ती झापाको एक गाउँ हो तिम्सिने। झापाकै विकसित नगरमध्येको एक मेचीनगर नगरपालिका क्षेत्रभित्र पर्ने सो गाउँमा खानेपानीको संकट विगतदेखिकै हो।

विसं २०२१ सालदेखि सो गाउँमा बस्ती बसे पनि हालसम्म शुद्ध खानेपानीको व्यवस्था हुन सकेको छैन। विगतमा भन्दा विकासका क्रियाकलापले गति लिए पनि खानेपानी समस्याले भने अहिले पनि त्यो क्षेत्रका परिवारलाई छाडेको छैन।

दुई दर्जनभन्दा बढी परिवार बसोबास गर्दै आएको सो गाउँका बासिन्दालाई बिहानै खोलामा शव ल्याए दिनभर पानी खान समस्या हुन्छ। त्यसैले उनीहरू बिहान सबेरै खोलामा जान्छन् र दिनभरलाई पुग्ने पानी भरेर ल्याउँछन्।

०२१ सालदेखि सो गाउँमा बस्ती बसे पनि हालसम्म शुद्ध खानेपानीको व्यवस्था हुन सकेको छैन।
‘पूरै गाउँमा पानी छैन, अधिकांश समय पानी बोक्नमै बित्छ’, गोमाले भनिन् , ‘दिउँसो शव ल्याएर जलाए भने पानी खानै पाइँदैन, शव जलाएकै दिन तिर्खा लागे पनि पानी निलिँदो रहेनछ।’ विगतमा सो गाउँका बासिन्दाले भालुखोप खोलाबाट पाइपमार्फत पानी ल्याए पनि कतिपय घरमा पुग्न सकेन।

पुगेको स्थानमा पनि पानीट्यांकी मर्मत नहुँदा पानी आउन छाडेको छ। घाटको पानी ल्याएर खानुपरेको स्थानीय तिलकबहादुर सोङमेनले बताए।

भने, ‘यो गाउँ नगरपालिका क्षेत्रमा पर्ने भए पनि हालसम्म हाम्रो खानेपानीको समस्यामा कुनै सुनुवाइ भएन।’ चुनावका बेला पानीलाई भोट माग्ने एजेन्डा बनाए पनि जितेर गएका जनप्रतिनिधिले समेत कुनै काम नगरेको उनले गुनासो गरे।

तिम्सिनेका महिला र बालबालिकाको दैनिकी पानी बोकेरै बित्छ। घरमा केही कार्य गर्नुपरे त पानी ओसार्नकै लागि बालबालिकाले विद्यालयसमेत जान पाउँदैनन्। मेचीनगरको सोही वडाका भावना चोक, पहलेधाप, डाडाँगाउँमा समेत खानेपानी समस्या यस्तै छ।

यता स्थानीय जनप्रतिनिधि भने पानी गाउँमा ल्याउने पहल स्थानीय तहले गरिरहेको बताउँछन्। मेचीनगर ३ का वडाध्यक्ष हर्क बस्नेतले स्थानीय तहले योजना बनाएर काम गरिरहेकाले पानीको समस्या टार्न केही समय लाग्ने बताए।

मेचीनगरका यी गाउँसँगै बुद्धशान्ति, कमल गाउँपालिका तथा अर्जुनधारा र कन्काई नगरपालिकाका उत्तरी गाउँहरूमा समेत खानेपानीको चरम अभाव छ। तर, स्थानीय सरकारले पानीको विषयमा चासो नदिएको स्थानीयको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *