‘जनयुद्ध’भन्दा बढी सडक दुर्घटनामा मृत्यु !

बितेको एक दशकमा सडक दुर्घटनामा युद्ध अवधिमा भन्दा बढी मानिस मारिएका छन् । दश बर्ष चलेको सशस्त्र द्वन्दमा करिब १७ हजार मानिस मारिएको भनिन्छ । सडकमा हरेक बर्ष झण्डै दोब्बर मानिसहरु मारिएका छन् ।

विभिन्न समयमा हुने प्राकृतिक र सडक दुर्घटना जस्ता दुर्घटना कम गर्न सकिन्छ । तर, चासो नदिइएका प्रकोपहरू हाम्रा दैनिकीजस्तै भएका छन् । दिनहुँजसो सडक दुर्घटनाबाट धनजनको क्षति भैरहँदा पनि सम्बन्धित निकायहरू खासै गम्भीर भएको र निराकरणमा लागेको अनुभूति हुन सकेको छैन ।

लाग्छ, यी घातक घटनाहरू निम्तिने वातावरण तयार गर्न सरकारी र निजी क्षेत्र सबै नै लागि परेका छन् । सडकहरू समयमा बन्दैनन्, गुणस्तर छैनन् । केही स्वार्थ नभए त अनुशासन कायम गर्न, बाटो पार गर्ने जेब्रा क्रसिङ्ग र पैदल हिँड्ने पेटी सुरक्षित र निश्चित गर्न कुनै बाधा नहुनुपर्ने हो ।

सार्वजनिक सवारीहरूमा सिण्डिकेट भएकाले गाडीहरूको स्तरोन्नतिमा प्रतिस्पर्धा हुन सकेको छैन । चालकहरूलाई गाडी चलाउने सीपका साथै सुरक्षा र सडक अनुशासनसम्बन्धी आधारभूत तालिम लिनुपर्ने व्यवस्था गर्न र नियमहरूको कार्यान्वनमा कडाइ गर्न आवश्यक छ । अन्यथा, ट्राफिकका भरमा सडक सुरक्षा थेगिन मुस्किल छ ।

सडक दुर्घटना र क्षति

नेपाल प्रहरीले व्यवस्थित गरी राखेको तथ्याङ्क अनुसार वि.सं. २०७० श्रावणदेखि २०७५ फागुनसम्म ५ बर्ष ८ महिनामा ५७ हजार ४०७ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै, गत असार अन्तिमसम्मका ५ बर्षका घटनाको औसत अनुसार प्रति बर्ष ९ हजार ७४१ घटना भन्दा बढी हुन्छ । अर्थात् हरेक दिन २६ दुर्घटना ।

गत पाँच बर्ष र आठ महिनामा भएका यी घटनामा कम्तिमा ८२ हजार ९०६ मानिस परेका थिए, जसमध्ये १२ हजार ५२७ ले ज्यान गुमाए । त्यस्तै २२ हजार ९५७ गम्भीर घाइते भए, बाँकि ४७४२२ सामान्य घाइते भए (तालिका १) । यिनबाट करिव सत्तरी हजार भन्दा बढी परिवारहरू सिधै प्रभावित भए । वालवालिकाहरू पनि सडक दुर्घटनाको उच्च जोखिममा रहेका छन् । सडक दुर्घटनामा मृत्यु हुनेमा ११ प्रतिशत वालवालिका रहेका छन् ।

यी तथ्याङ्क अनुसार सडकमा हरेक दिन ४० जना मानिस दुर्घटनामा पर्छन् । औसतमा हरेक हप्तामा ५ जना मारिन्छन् र करिब २७ जना घाइते हुन्छन् । अवस्था कहालीलाग्दो छ । तैपनि यही क्रम निर्वाध चलिरहेको छ । रोक्नका लागि गरिएका प्रयासहरू अपुरा छन् ।

यस अवधिका दुर्घटना र सम्बन्धित तथ्याङ्कको बार्षिक संश्लेषण तालिका १ मा प्रस्तुत गरिएको छ । सडक र सडकका कारण सिर्जित पहिरो तथा अन्य दुर्घटना वा प्रकोपहरू यसमा समावेश छैनन् । यी तथ्याङ्कले आवगमनमा भएका अवरोध र अन्य आर्थिक हानी नोक्सानीको मिहीन आँकलन गर्न सकेका छैनन् । त्यो अझ गहन अध्ययनको बिषय हुन सक्छ ।

विपद् जोखिमलाई ध्यान नदिएका विकासले अपेक्षित प्रतिफल दिँदैनन् । यसमा हाम्रा सडकहरू निर्माण र सञ्चालनमा जोखिम न्यूनीकरण पक्षमा यथेष्ठ ध्यान दिइएको छैन भन्ने प्रष्ट देखिन्छ ।

घटनाक्रमले सवारी साधन सञ्चालनमा उचित नियमन र नियन्त्रण भएन वा सडक सञ्चालनमा उचित ध्यान दिइएन भने यस्ता घटनाहरू बढ्दै जानेछन् । दुर्घटनाको संख्या र क्षति हरेक बर्ष नयाँ उचाइमा छ । यस बर्षका आठ महिनाको आधारमा बार्षिक प्रक्षेपण गर्दा दुर्घटना संख्या १३ हजार नाघ्ने देखिन्छ ।

महिना वा सिजन अनुसार यी घटनाहरूको प्रकृतिमा खासै भिन्नता देखिँदैन । अन्य केही बर्षमा असोज र कात्तिकमा घटनाहरू वा हानी नोक्सानी बढी भएको देखिन्छ जुन चाडवाडका समयमा बढी संख्यामा ओहोरदोहोर हुनेसँग सम्बन्धित छ । तथापि, समग्रमा खासै उतार छैन, निरन्तर बढ्दो छ ।

सवारी साधनका संख्या र प्रकृति अनुरुपका दुर्घटना

जम्मा ९३७८१ सवारी साधनहरू दुर्घटनामा परेकोमा सबैभन्दा बढी मोटरसाइकल (स्कुटर समेत) छन् । करिब ३८ प्रतिशत (३५ हजार ४५२) दुर्घटनामा मोटरसाइकलहरू संलग्न छन् । यसपछि जीप, कार छन् (२६ हजार ४२३) ।

दुर्घटनामा परेका सवारी साधन मध्ये आधाभन्दा बढी (४८ हजार १०७) मा क्षति भएको छ । विगत केही समयदेखि ट्रिपर र माइक्रो बसहरूले दुर्घटना बजार तताएका छन् । गएका आठ महिनामा ट्रिपरले ३६५ र माइक्रो बसले ३८३ दुर्घटना गरेका छन् । अर्थात् दैनिक १–२ घटना । दुर्घटनामा ट्रक र बसको संख्या हाराहारीमा (क्रमशः ११ हजार २०९ र ११ हजार ३१४) छ । यसले हाम्रो यातायात व्यवस्थाको अवस्था इंगित गर्दछ ।

प्रदेशगत अवस्था

यस आर्थिक वर्षको ८ महिनाको विवरण अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी दुर्घटना भएको छ भने प्रदेश ५ मा बढी मानिसको ज्यान गएको छ (तालिका ३) । तर गत असार मसान्त सम्मको बिगत ५ बर्ष अवधिको तथ्याङ्क विश्लेषणले तत्कालीन मध्यमाञ्चल (काठमाडौ उपत्यका बाहेक) मै बढी घटना र क्षति भएको देखिन्छ । धेरै दुर्घटनाहरू सडक र यसमा चल्ने सवारी साधनको घनत्वसँग सम्बन्धित रहेको देखिन्छ ।

दुर्घटनाका कारण

अध्ययन अवधिका ९३ प्रतिशत घटनाहरूमा सवारी चालकको अनुशासन र दक्षतासम्बन्धी कारणहरू पाइन्छन् । चालकका लापर्बाहीमा सवारी हाँक्दा हेलचक्र्याइँ, जथाभावी ओभरटेक गर्ने, अति तिब्र गतिमा हाँक्ने, मादक पदार्थ सेवन गरेर र गाडी ओभरलोड गरी चलाउने व्यवहारहरू मुख्य छन् ।

यात्रु तथा पैदलयात्रीका कारण १ हजार ४१७ र सडकमा छाडिएका चौपायाका कारण १७३ वटा दुर्घटना भएका देखिन्छन् । ४८१ वटा दुर्घटना त सडक भासिएर र सडकमा खाल्डा परेर भएका छन् ।

यी सबै कारणहरू बिभिन्न उपायहरूबाट निराकरण गर्न सकिने खालका छन् । दुर्घटनाका कारणहरूमा फरक मत हुन सक्छन् । तथापि, सवारी साधन, चालक र सडकको व्यवस्थापन राम्रो नभएकै कारणले दुर्घटना बढिरहेका छन् भन्नेमा दुईमत नहोला ।

सडकका समस्या बहुआयामिक र चौतर्फि छन् । केही परे समितिले गर्छ भन्ने मनोबृत्ती र फितलो सडक अनुशासनले लापर्बाही गर्नेहरूलाई दुरुत्साहन भएको छ । सडक निर्माण गर्ने र यातायात व्यवस्था गर्ने निकायहरू जवाफदेही नहुञ्जेल सडक दुर्घटना बढ्ने नै सम्भावना छ ।

सार्वजनिक यातायातका अलावा विद्यालयका बसहरूमा पनि चालक, परिचारकको दक्षता र अनुशासन महवपूर्ण छ । घटनाका तथ्य र जानकारीहरूले यातायात नियमन, सडक तथा यातायात व्यवस्थाका साथै सवारी सञ्चालकहरूको हालको जवाफदेहितामा गहन पुनरावलोकन गरी कानुनी तथा व्यवहारिक पक्षहरूम व्यापक सुधार हुनुपर्ने देखिन्छ ।

प्रकोप नै दैनिकी

बि.सं. ०७२ सालमा भएका भूकम्पमा ८ हजार ७९० मान्छे मारिए र २२ हजार ३०० घाइते भए । यो ०४५ सालको भूकम्पपछि २७ बर्षमा आएको थियो भने विसं. १९९० साल पछिको ८२ बर्षमा । भूकम्पपछि प्रभावित संरचनाहरूको पुनर्निर्माण र जोखिम कम गर्न भवन संहिताको कार्यान्वयन गर्न चालिएका कदमहरू सह्रानीय छन् ।

तर सडक दुर्घटना पनि त कम विकराल अवस्था छैन, भूकम्पको ४ बर्ष नपुग्दै ४२ हजार भन्दा बढी संख्यामा भएका सडक दुर्घटनामा त्यो घटनामा भन्दा धेरै (९ हजार २३७ जना) ले ज्यान गुमाए र दोब्बर भन्दा पनि धेरै (४९ हजार ८५१ जना) घाइते भए ।

धनसम्पत्तिको क्षति त छँदैछ, दैनिकीजस्तै भएका सडक दुर्घटना कम गर्न भने सरकारी तवरबाट खासगरी यातायात व्यवस्था सम्बन्धित निकायहरूबाट यथेष्ठ चासो दिएको पाइँदैन । सडक सुरक्षा ट्राफिकको भरोसामा मात्र छोडिएको छ ।

खोला तर्न सहज, बाटो तर्न कठिन

घनघस्याको उकालो तर्दा भन्ने यात्रा संस्मरणमा तारानाथ शर्माले ‘बाटामी गाड पडन्च’ भन्ने जनबोली राख्नुभएको थियो । बाटोमा खोला पर्छ र खोला तर्न जोखिम छ, ख्याल गर्नु भन्ने सूचना थियो । अहिले सडकहरू, पुलहरू बनेर धेरै ठाउँमा आवगमन सहज भएको छ । मोटरबाटो नपुगेका पहाडका खोलाहरूमा पनि ठाउँठाउँमा झोलुङ्गे पुल बनेका छन्, पुलबाट हिँडेरै खोला तर्न सकिन्छ ।

तर, अहिले बाटो तर्न नै मुस्किल छ । सडक पार गर्न बढी जोखिम छ । विकास निर्माण र सेवा सञ्चालनमा सुरक्षा र जोखिम निराकरण गर्नु अति महत्वपूर्ण हुन्छ भन्ने सत्यलाई आत्मसाथ गर्ने अधिकारीहरूको अभावले जोखिम झन्झन् बढिरहेका छन् । बासबाट निस्केपछि सुरक्षित फर्कन सकिन्छ कि सकिन्न भन्न कठिन छ अचेल । किनभने गन्तव्य पुग्न बाटो काट्नुपर्छ, सडकपेटीबाट हिँड्नुपर्छ, सवारी साधनमा चढ्नु र ओर्लनु पर्छ । यी सबै ठाउँमा जोखिम छ ।

घटनाहरूले यस्तै देखाउँछन् । सडक दुर्घटनाहरूमा सवारी दुर्घटना नै प्रमुख हो । सवारी दुर्घटनालाई सडक दुर्घटनाको पर्यायवाची रुपमा पनि प्रयोग गरेको पाइन्छ ।

सरकारले दीर्घकालीन सोचअनुरुप पूर्व–पश्चिम र उत्तर–दक्षिण सडक र रेल यातायातको थालनी गरेको छ । हामी हाम्रै देशमा आफ्नै देशको रेल चढ्ने दिन फर्किरहेका छौं । अघिल्लो हप्ता सरकारले रेल किन्ने पक्का गरेपछि मैले जनकपुरधामबाट रेल चढेर इनर्वा जाने योजना बनाएको छु । आफ्नै देशमा छकछके रेल ! तर, सडकको कहालीलाग्दो अवस्थाले तुरुन्तै मन सुकाइदिन्छ ।

onlinekhabar बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *