प्रदेश २ मा पुनः प्रश्नपत्र बाहिरियो, सामाजिक विषयको परीक्षा स्थगित

जनकपुर १५,चैत । प्रदेश २ को सामाजिक विषयको आजका लागि तय एसईई परीक्षा स्थगित गरिएको छ । परीक्षाअगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको हो ।

प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको सामाजिक विषयको आजको  परीक्षा स्थगन गरिएको जानकारी अनलाइनखबरलाई दिए ।

‘परीक्षाअगावै अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ,’, शर्माले भने, ‘त्यसैले हामीले नियमिततर्फको आजको परीक्षा स्थगित गरेका छौं ।’

स्थगित परीक्षा अब चैत २३ गते हुने शर्माले बताए ।

नियमितर्फको परीक्षा स्थगित भए पनि एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक र ग्रेड वृद्धिका परीक्षा भने प्रभावित नभएको जानकारी शर्माले दिए ।

प्रदेश २ मा यस वर्ष लगातार दोस्रोपटक एसईई प्रश्नपत्र बाहिरिएको हो । सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिएका थिए । तर, प्रश्नपत्र कहाँबाट, कसले लिग गरायो भन्ने अहिलेसम्म खुलेको छैन ।

यसअघि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । त्यसबारे छानबिन नहुँदै पुनः अर्को विषयको प्रश्नपत्र पनि आउट भएको हो ।

प्रदेश २ का शिक्षा निर्देशक शर्मा प्रश्नपत्र सार्वजनिक गरेर विद्यार्थीलाई मानसिक तनाव दिने काम भएको बताउँछन् । एकपछि अर्को लापरबाहीपूर्ण घटना भएकाले यसबारे गम्भीर रुपमा छानबिन हुने उनले बताए ।

‘विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै एकपछि अर्को प्रश्नपत्र बाहिरिएको छ’, शर्माले भने, ‘यसबारे गम्भीर छानबिन गरेर हामी सत्य–तथ्य बाहिर ल्याउँछौं ।’

बाहिरिएको अनिवार्य सामाजिक शिक्षा विषयको प्रश्नपत्र

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *