पुर्वप्रधानमन्त्रीका छोरा बाख्रापालनमा रमाउदै

पूर्वप्रधानमन्त्रीहरुका छोरा प्रायः बाबुको विडो थाम्ने दौडमा हुन्छन् । बाबुको प्रतिष्ठाको आडमा अन्य पेशा–बढाउने पनि हुन सक्छन् । पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र भने पशुपालनमा रमाएका छन् ।

तीन वर्ष अघि गैंडाकोट नगरपालिका–१३ सिख्रौलीमा ब्यवसायिक बाख्रा फार्म खोलेका वीरभद्रको दिनरात यहीँ बित्छ । उनको फार्ममा ३०० वटा अष्ट्रेलियन बोयर बाख्रा छन् । उनले आफ्नै नामको एक विघा जमिनमा खोरहरु बनाएका छन् । प्रोटिनयुक्त घाँस लगाउन आठबिघा जमिन भाडामा लिएका छन् ।

काठमाडौंमा कुनै कुराको अभाव भएर वा अवसर नपाएर बाख्रापालनमा होमिएका भने होइनन् । अमेरिका र नेपालमा कन्सल्ट्यान्टको बिभिन्न जागिर खाए ।

तर, नारायणी नदीको तटमा व्यवसाय गरेर दिन बिताउँदा आत्मासन्तुष्टि मिलेको आचार्य बताउँछन् ।

नगई नहुने काम पर्दा मात्र काठमाडौं जान्छन् । ‘यहाँको स्वच्छ हावापानीले बोलाउँछ, काठमाडौंले अत्याउँछ’, उनी भन्छन्, ‘यही रमाएर काम गर्न सकिन्छ, एउटा व्यवसाय गरेर देशलाई थोरै भएपनि योगदान दिन सकिन्छ भने किन मन खोलेर नगर्ने ?’

स्वच्छ र सुन्दर ठाउँको कृषि कर्मले जति अरु कुराले मन शान्ति नहुने उनको अनुभव छ । ‘७२ जिल्ला पुगेँ, सिन्धुपाल्चोक र दोलखामा बाख्रापालन गर्न खोजे’, उनी भन्छन्, ‘तर कुरा नमिलेपछि सिख्रौलीमा रहरको काम थालेँ ।’

आचार्यको बगैंचा फार्म हाउस एण्ड रिर्सोट प्रालिमा १७ जना साझेदार छन् । फार्म हाउसका आठ कर्मचारीमध्ये दुईजना जेटिए छन् । कम्पनीले झापा, ओखलढुंगा, रामेछाप, तनहुँ, बैतडी र बुटवलका आठ स्थानमा बाख्रापालन गरिरहेको छ ।

सिख्रौलीको फार्ममा अष्ट्रेलियाबाट ल्याइएको १४ माउ र चारवटा बोकाबाट बोयर बाख्रा उत्पादन गरिएको छ ।

अष्ट्रेलियाबाट ल्याउँदा एउटाको २ लाख ६० हजार रुपैयाँ पर्‍यो । यहाँ जन्मेका पाठापाठी भने १ लाख ५० हजारमा किसानलाई दिने गरिएको आचार्यले बताए ।

फार्म हाउसले बार्षिक २०० पाठापाठी बेच्ने गरेको छ । बाख्रा बढाएर ७०० वटा पुर्‍याउने लक्ष्य छ । आचार्यले नेपालमा अझै १० बर्ष बोयरको माग उच्च रहने देखेका छन् । ‘नेपालमा बार्षिक लाखौं मूल्यको मासु आयात भइरहेको छ’, उनी भन्छन्, ‘यसलाई रोक्न यस्ता सयौं फार्म चलाउनुपर्छ ।’

सरकारी तथ्याङ्क अनुसार नेपालमा मासुको उत्पादन वार्षिक ३५ लाख मेट्रिकटन मात्र छ । यसबाट २० प्रतिशत मात्र बजारको माग पुरा गर्छ । बाँकी आयात गर्ने गरिन्छ ।

‘फुल ब्लडेड’ बोयर दैनिक २०० देखि ३०० ग्रामसम्म बढ्छ । बोका नौ महिनामा प्रजननका लागि तयार हुन्छ । नेपालमा बोयर जातको बाख्रा बर्षमा दुई पटक ब्याउँछ । ‘यसको मर्ने दर १० प्रतिशत हाराहारी छ’, भन्छन्, ‘तर, सबैभन्दा उत्तम जाताको बाख्रा भएकाले बोयर पालनमा राम्रो व्यवसायिक प्रतिफल छ ।’

उनका अनुसार, छिटो बढ्ने, बोसो र कोलेस्ट्रोल कम हुने हुँदा बजारमा बोयरको मासुको माग बढ्दो छ । तर, फार्म सञ्चालकहरूको उद्देश्य मासु बेच्नु होइन । अहिलेलाई रैथाने बाख्रासँग क्रस गराएर उन्नत नश्लका पाठापाठी बढाउनु नै बोयर पालनको मुख्य उद्देश्य भएको आचार्य बताउँछन् ।

उनको फार्ममा बाख्रा पालक किसानहरुले ‘बुकिङ’ गरेको छमहिनामा बोका पाउने गरेका छन् ।

मासुमा आत्मनिर्भर बनाउने लक्ष्य

बगैचा फार्म हाउसले विषेश गरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई बाख्रापालनको सम्भावना, विधि, बजार र चुनौतीबारे निःशुल्क जानकारी र तालिम समेत दिँदै आएको छ । यो बर्ष बैदेशिक रोजगारीबाट फर्किएका करिब ६० जना युवकले फार्ममा तालिम लिए । फार्ममा वैदेशिक रोजगारीबाट फर्किएका र अन्य किसान गरी दैनिक ८–१० समुह आउने गरेका छन् ।

बाख्रा पालनमा अग्रसर हुनेहरुलाई सक्दो मद्दत गर्न आफू तयार रहेको आचार्यले बताए । ‘मेरो उद्धेश्य नै बढी भन्दा बढी व्यवसायिक बाख्रापालक किसान तयार गरेर देशलाई मासुमा आत्मनिर्भर बनाउने हो’, उनले अनलाइनखबरसँग भने, ‘यहाँ आए पनि सिकाउँछौं, उनीहरुकै फार्ममा गएर पनि सिकाउँछौं ।’

तर, धेरैमा अब देशमा केहि हुन्छ भन्ने उत्साह नै नपाएको अनुभव वीरभन्द्रले सुनाए । त्यसमाथि नेपाली जनशक्तिमा व्यवहारिक ज्ञानको ठुलो अभाव रहेको उनको सुनाए ।

‘बाख्रापालनमा समस्या आउँछ तर, समाधान दिन सक्ने जनशक्ति छैन, भन्छटन्, ‘टेप रेर्कडर जस्तो बनेका विश्वविद्यालय, विद्यालयहरुमा सुगालाई पढ्न पठाए भयो ।’

सरकारले देशलाई मासुमा आत्मनिर्भर बनाउने नीतिअनुरूप विभिन्न माध्यमद्वारा किसानलाई प्रोत्साहन गरेपनि त्यो अरुकै खल्तीमा पुगिरहेको उनले बताए । उनको अनुभवले भन्छ– पहुँचवालाहरुले कागज मिलाएर किसानको अनुदान खान्छन् ।

‘समस्या कतिसम्म भने, बाख्रालाई अनिवार्य इन्ट्रोटोक्सिमिया नामक औषधि नेपालमा प्रतिवन्धित गरिएको हुँदा भारतबाट लुकिछिपी ल्याउनुपर्ने वाध्यता छ’, वीरभन्द्र आचार्यले भन्छन्, ‘काम गर्ने जग्गा लिजमा पाउन समेत मुस्किल छ ।’

‘विदेशबाट नेपालीको शव आएको देख्दा मन रुन्छ’

नेपालका १८औं प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१२ माघदेखि २०१४ असारसम्म देशको बागडोर सम्हालेका थिए । उनले छोरालाई पनि राजनीतिमा आउन प्रेरित गरेका थिए ।

‘उहाँ कानुन पढेर राजनीति गर्न भन्नुहुन्थ्यो तर, मलाई राजनीतिमा कहिल्यै रुची भएन । व्यवस्थापन पढेँ’, कान्छा छोरा वीरभद्रले अनलाइनखबरसँग भने, ‘बुवाको नाम भजाएर राजनीति गर्दिन । बलबुताले जे सक्छु त्यही गर्छु भनेर अन्यत्रै लागे ।’

टंकप्रसाद आचार्यका चार छोरी र तीन छोरामध्ये माइलो कुशुमारको निधन भइसकेको छ । कान्छा वीरभद्र आचार्यका एक छोरा र एक छोरी अमेरिकामा छन् । उनीहरुले आफूसँग ढिलोचाँडो देश फर्कने बाचा गरेको आचार्यले बताए ।

देशको आर्थिक दुरावस्थाबारे कुरा गर्दा उनी भावुक बने । वैदेशिक रोजगारीमा गएका नेपाली युवा कफनमा पोको परेर आएको देख्दा धरधरी रुन मन लाग्ने उनले बताए ।

‘गाउँबाट काठमाडौं आएर सिधै अर्काको देशमा पुग्छन्’ उनले भने, ‘अनि देशदुनिया बुझ्न नपाउँदै लाशमा परिणत हुन विवश हुन्छन् । नेपालको स्थिति बडा दुःखद छ ।‘

रेमिट्यान्सको लोभले नेपाललाई कुनै दिन अलपत्र पार्ने उनको भनाइ छ । ‘नेपाली माटोले युवाको नाडी खोजिरहेको छ, युवा जति विदेशमा छन्’ आचार्यले भने, ‘शहरमा पैसा र प्रविधि छ, गाउँमा उर्वर भूमि छ, त्यसलाई जोड्ने कार्यक्रम खोई ?’

स्रौत onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *